विराटनगर- नेपाली कांग्रेस कोसी प्रदेश कार्यसम्पादन समिति बैठकले केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले दुईवटा निर्णय गरेको पार्टी कोसी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।
थापाका अनुसार बैठकले कार्कीलाई मुख्यमन्त्री बनाउने गरी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने प्रदेश सांसदहरूलाई पनि हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ।
‘पार्टी निर्णय विपरीत भएको र अनुशासनभित्र रहेर दाबी र हस्ताक्षर फिर्ता लिन अनुरोध गरेका छौं,’ थापाले भने।
बिहीबार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्वोले पनि दाबी पेस गरेका छन्।
यी हुन् बैठकका निर्णयहरू :
१) संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई अनुरोध गरियो।
२) केदार कार्की र केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरियो।
३) पार्टीलाई एकताबद्ध बनाउन कोसी संसदीय दललाई अनुरोध गरियो।
४) केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरियो।


