काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच छलफल भएको छ।
कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको हो।
छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रस्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिवद्धता व्यक्त गरिएको छ।
‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र प्रष्ट छौं र, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुने दिने छैनौं,’ सहमतिमा उल्लेख छ।
कोशीमा कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री नयुक्त भइसकेका छन्। उनी एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
कोशीमा एमालेले कार्कीलाई समर्थन गरेपछि गठबन्धन धरापमा पर्ने आकलन भइरहेका बेला यस्तो सहमति भएको हो।



