काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिती पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।
आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तराष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले वेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन्।
‘तपाई(अन्तर्राष्ट्रिय सञ्चारमाध्यम)हरूमार्फत अन्तर्राष्ट्रिय संघसंस्था, विभिन्न कूटनीतिक मिसनहरूसँग पनि उनको स्थिती पत्ता लगाइदिनका लागि अनुरोध गर्न चाहन्छु,’ उनले भनेका थिए।
प्रत्यक्षदर्शी नेपाली विद्यार्थीसमेतको भनाइका आधारमा विपीन हमास समूहको कब्जामा रहेको हुन सक्ने आकलन परराष्ट्रको छ।
‘विपीनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटकपटक आक्रमण गरेको देखिन्छ। पहिले गोली चलाएको र त्यसपछि ग्रिनेट फालेको देखिन्छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुईवटा ग्रिनेट फाल्दा एउटा नपड्किदै विपीनजीले एउटा ग्रिनेट बाहिर फ्याँकेको देखिन्छ।’
प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपीनलाई पनि अपहरण गरेको लगेका थिए।
‘त्यसदेखि नै उनी अज्ञात अवस्थामा छन्, उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ साउदले भने, ‘उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौं। इजरायल सरकारले पनि प्रतिबद्धता जनाएको छ।’


