काठमाडौं– उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले, नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने दाबी गरेका छन् ।
सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने विषयलाई जोडेर भ्रम छर्ने काम भएको बताए।
उनले भने, ‘आज पनि नियमावलीलाई यताउता पार्न खोजियो भन्ने गलत झुटा कुरा प्रचार भएको छ। नेपालको प्रधानसेनापति हुन एउटा निश्चित मापदण्ड छ। निश्चित तालिम प्राप्त गरेको अनुभव अनिवार्य हुन्छ। ती सबै आधार र अधिकार भन्दा दायाबायाँ सरकार जाने कुराको कल्पना समेत गर्न सकिँदैन।’
उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधी थप्ने सैनिक ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको बताए।
‘उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक ऐन, नियमको व्यवस्था छ। त्यसका लागि सेनाको एउटा बोर्ड छ। त्यो बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भूमिका प्रभावकारिताको मूल्याङ्कन गरी बढुवाको लागि सिफारिस गर्छ,’ उनले भने, ‘प्रधानसेनापतीले त्यो सिफारिसको आधारमा रक्षा मन्त्रालयमा सिफारिस पठाउनुहुन्छ, रक्षा मन्त्रालयले परीक्षण गर्छ, त्यसपछि मन्त्रीपरिषद्मा गएर एक पटकलाई पदावधि थपिने प्रचलन अनुसार यमप्रसाद अधिकारीको पनि अहिले तीन वर्षको लागि म्याद थप गरेको हो।’


