काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि सुरु हुँदै छ। कत्तिक ३ गतेसम्म चल्ने काठमाडौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले जानकारी दिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने अधिवेशन कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट समापन हुने कार्यतालिका छ। एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ।
सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारासहित एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित तेस्रो विश्व ज्ञान सम्मेलन पनि एकसाथ आयोजना हुन लागेको छ।
सम्मेलनकै दौरान असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ।
यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए। उनका अनुसार पहिलोपटक ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।
संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।
एनआरएनएको अध्यक्ष पदका लागि चार आकाङ्क्षी छन्। हालका अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ, आरके शर्मा र विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएको एनआरएनए सचिवालयले जनाएको छ।
६ जना निर्वाचित हुने उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ। महाधिवेशनले ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।
एनआरएनएलाई दलीय राजनीतिबाट मुक्त राख्ने भनिए पनि ११औं महाधिवेशन नजिकिदै जाँदा दलका नेताहरुको सक्रियता बढेको छ। आफू निकटका उम्मेदवारलाई जिताउन नेपाली कांग्रेस र कम्युनिस्ट घटकको सक्रियता बढेको छ।
यो मोर्चामा नेपाली कांग्रेस, एमाले र माओवादीको सक्रियता बढेको छ। रास्वपाले भने आफूहरूले एनआरएनएमा कुनै पनि उम्मेदवारको पक्षमा समर्थन नगर्ने बताएको छ। एमाले गठबन्धनका उम्मेदवार फुटाउने प्रयासमा छ।
एनआरएनए अध्यक्षका लागि बलिया दाबेदार मानिएका नेपाली कांग्रेस निकट महेशकुमार श्रेष्ठलाई गठबन्धनको साझा उम्मेदवार बनाउने प्रयासमा कांग्रेसका नेताहरु सक्रिय छन्। तर माओवादी केन्द्र निकट आरके शर्माले अध्यक्षबाट पछाडि नहट्ने अडानमा छन्।
पटक पटक कांग्रेसका उम्मेदवारहरुलाई माओवादीले सहयोग गरेकाले यो पटक कांग्रेसले माओवादीलाई समर्थन गर्नुपर्ने तर्क माओवादीका नेताहरूको छ। यस्तै माओवादीसँग निकट सम्बन्ध बनाएका एनआरएन पनि प्रधानमन्त्रीलाई दबाब बढाउन सक्रिय छन्। कतारमा व्यवसा गर्दै आएका शर्माले चुनावी दौडका क्रममा कुनै हालतमा आफू पछि नहट्न जिकिर गर्दै आएका छन्। कांग्रेस र माओवादीका शीर्ष नेता भने साझा उम्मेदवार तय गर्ने मनासयमा छन्।
३५ देशमा रहेका जनसम्पर्क समितिमार्फत एनआरएनएको आन्तरिक राजनीतिमा बलियो प्रभाव बनाएको भनिएको कांग्रेसले गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा श्रेष्ठलाई खडा गर्न चाहन्छन्। कांग्रेसका नेताहरुको असन्तुष्टि बढिरहेकाले श्रेष्ठलाई अगाडि नबढाए विद्रोह हुन सक्न भय कांग्रेसमै पनि छ।
कांग्रेस निकट अध्यक्षका अर्का उम्मेदवार रविना थापालाई पनि नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन्। थापाले आफूसँग सल्लाह नगरी श्रेष्ठलाई कांग्रेसको आधिकारिक उम्मेदवार बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएकी छन्। एनआरएनएमा पहिलो महिला अध्यक्ष भइसकेकाले अब श्रेष्ठलाई समर्थन गर्न थापामाथि कांग्रेसको दबाब छ।
उता, प्रमुख प्रतिपक्षी दल एमालेले अध्यक्षका उम्मेदवार डा. बद्री केसीलाई जिताउन सक्रियता बढाएको छ। यसका लागि एनआरएन अभियन्ताहरुले एमालेका शीर्ष नेताहरुसँग पटक पटक वार्ता गरिसकेका छन्। तर एमाले र एमाले निकट एनआरएनले त्यस्ता वार्तालाई गोप्य राख्दै आएका छन्।
नेतृत्वका लागि प्रमुख दाबेदार श्रेष्ठ, डा. केसी र शर्माबीच त्रिपक्षीय भिडन्त भए त्यसको फाइदा एमाले पक्ष अर्थात डा. केसीले लिने आकलन छ। यद्यपि अधिकांश पूर्वअध्यक्षहरु श्रेष्ठको पक्षमा भएको दाबी गरिन्छ। एनआरएनएका धेरै अभियन्ताहरुले एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको समूहसँग एकता गर्न सक्ने उम्मेदवार जिताउन जोडबल गरिरहेका छन्। घले एनआरएनएको अर्को संस्था बनाउने प्रयासमा छन्।
सन् २००३ अगस्टमा लन्डनमा गैरआवासीय नेपालीको भेलाले एनआरएन गठन गर्ने निर्णय गरेको थियो। सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा एनआरएनको पहिलो विश्व सम्मेलन आयोजना भएको थियो। त्यसबेला उपेन्द्र महतो अध्यक्ष बनेका थिए।
नेपाली मूलका करिब एक लाखलाई सङ्गठित गरेको एनआरएनका ८६ देशमा सदस्य छन्।
