काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्।
जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न उनी बुधबार बिहानै जोमसोमतर्फ लागेका हुन्।
‘जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान गर्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नुहुनेछ।’
प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कने छन्।
प्रधानमन्त्री ‘प्रचण्ड’ मंगलबार मात्र अस्पताल भर्ना भएका थिए।
उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।
स्वकीय सचिव रमेश मल्लका अनुसार मंगलबार साँझ छातीमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो।
प्रधानमन्त्री प्रचण्डले दिउँसोदेखि नै अप्ठ्यारो महसुस भएको बताएका थिए।
उनी बेलुका निवास फर्किएका थिए।


