काठमाडौँ- हमास समूहको आक्रमणमा परी इजरायलमा मृत्यु भएका ४ विद्यार्थीको शव कात्तिक ५ गते नेपाल आइपुग्ने भएको छ।
इजरायलले नेपाली दूतावासलाई हस्तान्तरण गरेका चार जनाको शव नेपाल पठाइने इजरायल तेलअबिबस्थित नेपाली राजदूतावासले जानकारी दिएको हो।
तेलअबिबबाट शनिबार दिउँसो साढे १ बजे दुबई पठाइने र दुबईबाट नेपालमा ५ गते आइपुग्ने दूतावासको भनाइ छ। ती शव फ्लाई दुबईको जहाजले इजरायलबाट नेपालसम्म ल्याउनेछ।
नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव आइतबार आइपुग्ने दूतावासको भनाइ छ।
दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी अघिल्लो शनिबार १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। तीमध्ये ५ शव इजरायलले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ। तीमध्ये ४ शव नेपाल पठाइन लागेको हो।
बाँकी ५ शव पहिचानको काम भइरहेको भन्दै इजरायली पक्षले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छैन।
सोही आक्रमणमा परेका सम्पर्कविहीन विपिन जोशीको खोजी भइरहेको दूतावासको भनाइ छ।



