काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। चीन भ्रमणका क्रममा हृदयघात भएपछि अस्पताल भर्ना भएका श्रेष्ठ सोमबार डिस्चार्ज भएका हुन्। उनी पाँच दिन अस्पतालमा भर्ना भएर उपचार गराएका थिए।
श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार उनी कात्तिक ८ गते बिहान स्वदेश फर्कने छन्।
श्रेष्ठ बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएका थिए। बेइजिङमा रहँदा हृदयघात भएपछि उनलाई पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको थियो। एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई स्टेन्ट राखेर खुलाइएको थियो।


