काठमाडौँ- प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ।
सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै उनी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो।
सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो।
अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा हुने निर्णय बदर गरिदिएको हो।
संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको कैद सजाय मिनाहा गरिदिएका थिए। उक्त निर्णयलाई सर्वोच्चले बदर गरिदिएको हो।
भारती मानन्धरले आफ्ना पति चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगललाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।
तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए।
रिगलले अब ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको देखिएको छ।
‘रिगललाई तकाल पक्राउ गरी उल्लेख भएबमोजिम कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैद मध्ये निजबाट असुल उपर हुन बाँकी देखिएको ११ वर्ष ११ महिना ५ दिन कैद निजलाई कारागारमा राखेर कानुनबमोजिम असुल गर्नू भनी प्रतयार्थीहरूका नाममा परमादेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ।


