हाम्रो समाजमा भक्तिको उदाहरणदेखि शक्तिको कुरासम्म हनुमानलाई जोड्ने गरिन्छ। यस विषयका धेरै प्रसंग हनुमान चालिसामा पनि उल्लेख छन्। गोस्वामी तुलसीदासले हनुमान चालिसामा एक दोहामा लेखेका छन्:
जुग सहस्र योजन पर भानू।
लिल्यो ताहि मधुर फल जानू।
(अर्थ:- एक युग सहस्र योजन (१५ लाख किलोमिटर) टाढा रहेका भानु अर्थात् सूर्यलाई हनुमानले मीठो फल सम्झेर खाए)
यसको अभिधात्मक अर्थ हनुमानले भगवान् सूर्यलाई नै खाए भन्ने हुन्छ। तर लाक्षणिक रूपमा सूर्यमा भएको विद्या र ज्ञानलाई अत्यन्तै सहज र सरल तरिकाले हनुमानले प्राप्त गरे भन्ने अर्थ हुन्छ। सूर्य भगवानसँग ज्ञान प्राप्त गर्न हनुमान गएका थिए। सूर्यसँग जति पनि ज्ञान थियो, सबै ज्ञानको भण्डार हनुमानले ग्रहण गरेका थिए। त्यसै प्रसङ्गको दोहाको रूपमा पनि यसलाई लिइन्छ। हनुमानलाई पृथ्वीमा रहेको परिकल्पना यो दोहामा गरिएको छ। त्यसो भए सूर्य र पृथ्वीबीचको दूरी कति थियो त? त्यसको पनि व्याख्या यसै दोहामा छ।
सनातन सभ्यतामा समयलाई विभिन्न एकाइमा नाप्ने प्रचलन थियो। समयको मापन गर्ने ‘परमाणु’देखि लिएर ‘पर’सम्म समयका एकाइ प्रचलनमा थिए। पदार्थको सबैभन्दा सानो एकाइलाई सूर्यको प्रकाशले वारपार गर्न लगाउने समय (सूर्यको प्रकाशको गति ३ लाख किमी प्रतिसेकेन्ड हुन्छ।)लाई एक परमाणु समय हो। यो समयको सबैभन्दा सानो एकाई मानिएको छ। ‘पर’ भन्नाले ३११०,४०,००,००,००,००० (३१ नील १० खर्ब) मानव वर्ष हुन्छ। यसलाई सनातन सभ्यतामा ब्रह्माजीको परम् आयुसमेत भन्ने गरिएको छ।
युग पनि समयकै एउटा एकाई हो। सत्य, त्रेता, द्वापर र कलि यी चारै युगको संयुक्त नाम नै युग (महायुग पनि भनिने) हो। सत्ययुग १७ लाख २८ हजार वर्ष, त्रेतायुग १२ लाख ९६ हजार वर्ष, द्वापरयुग ८ लाख ६४ हजार वर्ष र कलियुग ४ लाख ३२ हजार वर्षको रहने गर्छ। यी चारै युगको कुल योग ४३ लाख २० हजार वर्ष हुन्छ, जसलाई एक महायुग अथवा ‘जुग’ पनि भन्ने गरिन्छ। यो वर्ष मानव वर्ष अर्थात् सौर वर्ष (पृथ्वीले सूर्यलाई एक पटक घुम्न लगाउने समय) अनुसार भनिएको हो। पूर्वीय ज्योतिषशास्त्र अनुसार ३६० वर्षको एक दिव्यवर्ष हुन्छ, यो हिसाबले एक युगमा १२ हजार (४३,२०,०००/३६०) दिव्यवर्ष हुने भयो।
अब फेरि एकपटक माथिको दोहातर्फ नै फर्किऔँ। दोहामा भनिए अनुसार ‘जुग सहस्र’ अर्थात् जुगको अर्थ १२ हजार र सहस्रको अर्थ एक हजार हुन्छ। यसको मलतब एक हजार जुग भन्ने हुन्छ। एक हजार जुग भनेको १ करोड २० लाख वर्ष भयो।
दोहाको पहिलो लाइनमा ‘जुग सहस्र योजन पर भानु’ भन्ने शब्दावली छ। यसको अर्थ हनुमान भएको स्थान (पृथ्वी) र सूर्यबीचको दूरी एक हजार युग योजन टाढा अर्थात् १ करोड २० लाख योजन टाढा रहेको भन्ने हुन्छ। यो दोहालाई केलाएर हेर्दा सूर्य र पृथ्वीबीचको दूरी योजनमा प्राप्त भएको छ। योजन पनि दूरी नाप्ने एकाइ नै हो। एक योजनमा ८ माइल र एक माइलमा १.६ मिलोमिटर हुने हामी सबैलाई थाहा भएकै कुरा हो। यसरी एक योजनमा १२.८ किलोमिटर हुन्छ।
अब सूर्य र पृथ्वीको कूल दूरी १ करोड २० लाख योजन टाढा छ। यो भनेको १५ करोड ३६ लाख किलोमिटर (१ करोड २० लाख ×१२.८) भयो। वर्तमान समयमा विज्ञानले सूर्य र पृथ्वीको अधिकतम दूरी १५ करोड २० लाख किमी भनेको छ। यसरी हेर्दा हजारौँ वर्ष पहिले गणना गरिएको सूर्य-पृथ्वीको दूरी र हाल वैज्ञानिक भनिएको दूरीबीच ०.९२ प्रतिशत मात्र अन्तर छ। त्यो बेला उपकरणबिना कसरी यस्तो गणना भयो भन्नेमा अनुसन्धान हुन बाँकी छ।

