काठमाडौं- नेपाली चलचित्र निर्माताले अब हलमा फिल्म प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउने भएका छन्। चलचित्र संघ र चलचित्र निर्माता संघबीच बिहीबार यस्तो सम्झौता भएको हो।
चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमतिअनुसार फिल्म ‘दिमाग खराब’ रिलिज भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागू गर्न दुवै पक्ष सहमत भएका हुन्। यो सुविधा सबै नेपाली फिल्मले पाउनेछन्।
‘यो हामी सबैको जित हो। कसैले जितेको र कसैले हारेको छैन। यो महत्वपूर्ण दिन हो,’ सहमतिपछि खड्काले भने।
फिल्म ‘दिमाग खराब’का निर्माताले आफूहरूलाई दुई सातापछि ३५ प्रतिशत मात्र दिने गरिएको भन्दै हलमा फिल्म प्रदर्शन गर्न रोक लगाएको थियो।


