काठमाडौँ- इन्डोनेसिया जाने नेपालीका लागि अब स्टिकर भिसा अनिवार्य भएको छ। बंगलादेशको ढाकास्थित नेपालसमेत हेर्ने इन्डोनेसियाली राजदूतावासले नेपालीका लागि स्टिकर भिसा अनिवार्य गरिएको जानकारी दिएको हो।
‘नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरिएको छ,’ ढाका दूतावासलाई उद्धृत गर्दै काठमाडौँस्थित इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको कार्यालयले भनेको छ, ‘इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिसाको प्रक्रियामा अनेक चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको हो।’
दूतावासले सर्कुलर जारी गर्दै भिषा सम्बन्धी सम्पूर्ण कार्य इन्डोनेसियाको काठमाडौँस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय मार्फत गर्न सुझाव दिएको छ।
ई–भिषा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मूल्याकन गर्दै दूतावासले अब नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाको लागि आवेदन नगर्नसमेत आग्रह गरेको छ।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा अनएराईभल भिसाका लागि पहल भइरहेको जानकारी दिएका छन्।
नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको उनले जानकारी दिए।
इन्डोनेसियाको पर्यटकीयस्थलमध्ये बाली नेपालीहरूबीच प्रचलित छ। बालीका लागि नेपालबाट बर्सेनि ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन्। स्टिकर भिसा अनिवार्य भएसँगै बालीलगायत इन्डोनेसिया जाने नेपाली प्रभावित हुनेछन्।


