काठमाडौँ- प्रधानन्यायधीश विश्वभरप्रसाद श्रेष्ठले सरल न्याय प्रदान गर्ने उद्देश्यका साथ श्रव्यदृष्यमार्फत् मुद्दाको सुनुवाईको कार्य सुरुवात गरेको बताएका छन्।
आज उच्च अदालतका इजलासहरू जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडामा श्रव्यदृष्यमार्फत् मुद्दाको सुनुवाई शुभारम्भ कार्यक्रममा उनले सबैको सर्वसुलभ तरिकाले न्याय दिनको लागि यो तरिका अपनाएको जानकारी दिँदै यसले कानून व्यवसाय, अदालत र मुद्दाका पक्ष गरी तीनै पक्षलाई प्रविधिमार्फत् सहयोग गर्ने बताए।
‘श्रव्यदृष्यमार्फत् मुद्दाको सुनुवाई यो एउटा नयाँ सुरुवात हो। हामीले यसबाट बयान र बकपत्र पनि गराएका छौं। सरल रुपले न्याय प्रदान गर्नका लागि, प्रमाण संकलनका लागि यो व्यवस्था सरल तरिका भएको छ,’ उनले भने, ‘न्यायमा सबैको पहुँच पुर्याउन र सर्वसुलभ तरिकाले न्याय प्रदान गर्नका लागि यो तरिका अपनाएका छौं। यो कार्यक्रम निरन्तर अगाडि बढ्छ।’
यस्तै, उनले यस प्रविधिमार्फत् कानूनको दायरामा बसेर काम हुने अदालत आउन नपर्ने, समयको बचतको साथै काम पनि सहज हुने बताए।


