काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधबार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन्।
बिहीबार काठमाडौँमा म्युजिक सार्वजनिक गर्दै उनले माफी मागेका हुन्। उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरुलाई सरकारले नै होटलमा राखी बिहीबार गन्तव्यमा पुर्याएको बताए।
मन्त्री किराँतीले भीभीआईपी सवार हुने भएकाले परराष्ट्रको चिठीको आधारमा राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए। उनले यात्रुलाई मेल र फोन गरेर जानकारी गराएपनि फोन नउठाउने र मेल जाँच नगर्नेहरु समस्यामा परेको जिकिर गरे। तर छोडिएका यात्रुले भने आफूलाई इमेल वा फोन कुनै पनि माध्यमबाट जानकारी नआएको बताए।
‘भीभीआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै हामीलाई सार्न लगाएपछि बाध्य भयौँ। छुट्नु भएकाहरुसँग सम्बन्धित निकायले माफी मागेको छ। मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु,’ मन्त्री किराँतीले भने।
मन्त्री किराँतीले युरोपियन युनियनको कालोसूचीमा देश करिब १३ वर्ष अघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको समेत जिकिर गरेका छन्। ईयूले १२ बुँदै चिठी पठाएको र ती बुँदा पालना गरेको खण्डमा कालोसूचीबाट हट्ने उनले बताए।
नेपाल एयरलाइन्सको लापरबाही, प्रचण्डको उडान सार्दा विमानस्थलबाटै फर्काइए ३१ यात्रु


