काठमाडौँ- राष्ट्रिय सभामा सिट बाँडफाँटका विषयमा गठबन्धनका दलहरूले एमालेसँग छलफल गर्ने भएका छन्। बुधबार साँझ ५ बजे सत्ता गठबन्धन र एमालेबीच बैठक डाकिएको छ।
त्यसअघि दिउँसो ३ बजे सत्ता गठबन्धनका चार दलको बैठक डाकिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ। त्यसपछि ५ बजे सत्ता गठबन्धनको बैठकमा एमाले नेताहरू सहभागी हुनेछन्।
मंगलबार र बुधबार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रिय सभा चुनाव सिट बाँडफाँटका विषयमा छलफल भएको थियो। ती बैठकमा नेकपा एमालेका लागि पनि केही सिट छुट्याउन सकारात्मक देखिएका छन्।
राष्ट्रिय सभामा फागुन २० गते रिक्त हुने १९ सांसदका लागि माघ ११ गते चुनाव हुँदैछ। फागुन २० गते एमालेका ८ जनाको कार्यकाल सकिँदैछ।
कति सिट एमालेलाई छुट्याउने विषयमा भने छलफल पछि मात्रै टुंगिने कांग्रेस–माओवादी छलफलमा सहभागी एक नेताले जानकारी दिए।


