धरान- धरान उत्सव २०८० सुरु भएको छ। धरानकी ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कटुवालले उद्घाटन गरेसँगै उत्सव सुरु भएको हो।
२०१७ सालमा नगरपालिका घोषणा भएको सम्झनामा धरान उत्सव मनाइँदै आएको छ। उत्सवमा देशका विभिन्न पालिकालाई निम्तो गरिएको छ।
हर्कलाई साथ दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि धरान पुगेका छन्। धरान उत्सवको सुरूमा विभिन्न जातजातीको संस्कृति झल्किने र्याली प्रदर्शन गरिएको छ।
उत्सवमा प्रमुख अतिथिको रूपमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साम्पाङले निम्तो दिएका थिए। तर ‘प्रचण्ड’ उत्सवमा सहभागी भएनन्।
नगरपालिका घोषणा भएको ६२ वर्ष भए पनि धरान मानव बसोबास सुरू भएको १२२औँ वर्ष पूरा भएको भन्दै १२३औ धरान उत्सव मनाउन लागिएको छ।
बालेनले धरान धेरै कुरमा अनुकरणीय भएको बताए। उनले धरानमा शुरु भएको श्रम संस्कृति देश मात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको भन्दै हर्कको प्रशंशा गरे। उनले काठमाडौंभन्दा पनि धरान फेसनमा अगाडि भएको बताएका थिए।
‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरुले सरकारको बजेटबिना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्’, शाहले भने, ‘अहिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ।’
उनले उत्सवका अवसरमा धरानका मेयर हर्कलाई आकाशभैरवको प्रतिमा उपहार दिएका छन्। बालेनले भने, ‘यहाँ यलम्बर मानिन्छ। काठमाडौंमा आकाश भैरव।’


