काठमाडौँ- माघ ११ गते राष्ट्रिय सभाका १९ सिटमा ४७ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेका १९, सत्ता गठबन्धनका १९ र राप्रापाका ९ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो।
देशका सातै प्रदेशमा निर्वाचन आयोगका प्रादेशिक कार्यालयमा उम्मेदवारको मनोनयन गर्ने क्रम जारी छ। दिउँसो ३ बजेसम्म निर्वाचन आयोगले उम्मेदवारी दर्ता गराउन भनेको छ।
नेपाली कांग्रेसले कोशी प्रदेशबाट कृष्ण प्रसाद सिटौला, मधेशमा आनन्द प्रसाद ढुंगाना, बाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेत, गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार, लुम्बिनीमा विष्णु देवी सापकोटा, कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई राष्ट्रिय सभा उम्मेदवार छन्।
संस्थापन इतर पक्षबाट लुम्बिनीका विष्णु देवी सापकोटा र गण्डकीका किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार रहेका छन्। १० जना उम्मेदवारमा संस्थापन पक्षबाट ७ जनाको उम्मेदवारी रहेको छ।
माओवादीबाट ६ जना
माओवादीबाट कोशी महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्द उम्मेदवार छन्।
एसबाट मल्ल र विक उम्मेदवार
नेकपा एसले बागमतीमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ।
यस्तै कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउँदैछ। उनी नारायण नगरपालिका दैलेखककी पूर्व उपमेयर हुन्।
जसपाबाट पूजा चौधरी
जसपाले आफ्नो भागमा परेको कोटामा रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाएको छ। चौधरीले गत मंसिरमा सम्पन्न आमचुनावमा रौतहटबाट प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गरेकी थिइन्।
१९ सिटका लागि हुन लागेको निर्वाचनमा गठबन्धनको भागबन्डाअनुसार जसपाको भागमा एक सिट परेको छ।
राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यमा भने गठबन्धनले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने निर्णय गरिसकेको छ।
एमालेका उम्मेदवार
एमालेबाट कोशी प्रदेशमा महिलाबाट सुनसरीकी रुक्मिणी कोइराला, अन्यबाट भोजपुरका पर्शुराम अधिकारी छन्।
यस्तै मधेशमा महिलाबाट पर्साकी उषादेवी थरुनी, अन्यबाट महोत्तरीका डा. अर्जुनकुमार सिंह राजपुत उम्मेदवार बन्ने भएका छन्। तर राजपुतको नाम मतदाता नामावलीमा नभेटिएपछि उनी उम्मेदवारी दर्ता नगराई फर्केका छन्। यस विषयमा एमालेले थप निर्णय गर्न बाँकी छ।
बागमतीमा महिलाबाट दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अपाङ्गता-अल्पसंख्यकबाट काठमाडौँका विवेक देवकोटा र दलितबाट धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाउने भएको हो।
गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा)लाई उम्मेदवार बनाएको छ।
कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु), दलिततर्फ हिक्मत विक (दैलेख) र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता-अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)लाई उम्मेदवार बनाएको छ।
राप्रपाका ९ उम्मेदवार
राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाएको छ।
बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाइएको छ।
गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंह उम्मेदवार छन्।


