विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख चयन भएका छन्।
प्रदेशस्थित सत्ता गठबन्धनका दलहरूले सभामुखका रूपमा अघि सारेपछि उनलाई प्रमुख विपक्षी नेकपा एमालेले पनि समर्थन गरेको थियो।
उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुख चयन भएको घोषणा गरेकी छन्।
सभामुख पदमा विष्टको एकल उम्मेदवारी परेको जानकारी दिँदै उपसभामुख दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन्।
झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्।
यसअघि सभामुखमा विजयी भएका माओवादीका बाबुराम गौतमले राजीनामा दिएपछि सभामुखको पद रिक्त थियो। साउन १६ मा तत्कालीन सभामुख गौतमले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन पदबाट राजीनामा दिएपछि प्रदेशको सभामुख पद खाली थियो।
पाँच महिनादेखि रिक्त सभामुख पदमा चयन भएपछि विष्टले संविधानको परिधिभित्र रहेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्।
कोशीको सभामुख बनेका विष्टको राजनीतिक जीवनको सुरुआत वामपन्थी दलबाट भएको थियो। उनी २०२८ सालतिर झापामा वाम राजनीतिमा सक्रिय थिए।
त्यसबेला वाम दल छोडेर पञ्चायत प्रवेश गरेका उनी २०३३ सालमा जुरोपानी गाउँ पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष भएका थिए।
२०३२ मा पञ्चायत प्रवेश गरेको एक वर्षभित्रै उनी वडाध्यक्ष भएका थिए।
वडाध्यक्ष भएपछिको अर्को वर्ष जुरोपानी (हाल गौरादह) को उपप्रधानपञ्च पनि भए। उपप्रधानपञ्च एक वर्ष बनेका विष्ट त्यसपछि झन्डै एक दशक जिल्ला पञ्चायतको सदस्य पनि भए।
राप्रपा झापाको आठ वर्ष पार्टी अध्यक्ष रहेका थिए।


