काठमाडौं- बीवाइडीले स्पोर्टी सेडान कार सिल नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार देखि यो कार आधिकारीक रुपमा बिक्री गर्न थालेको हो।
सिल बीवाइडीको सबैभन्दा प्रिमियम मोडल हो। यो मोडलका तीनवटा भेरिएन्टमा सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार सिलको डाइनामिक, प्रिमियम र पर्फमेन्स भेरियन्टका कार बजारमा उपलब्ध छन्। सिल मोडल निकै आकर्षक र प्रिमियम फिचर भएको सेडान कार हो।
यसले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। सिलको सबैभन्दा सस्तो भेरियन्ट डाइनामिक हो। यसको मूल्य १ करोड ५ लाख रुपैयाँ रहेको छ। यसमा ६१.४४ किलोवाट आवरको ब्लेड ब्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ। यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गर्दा ४६० किलोमिटरसम्म गुडाउन सकिनेछ। यसमा रहेको मोटरको सहायताले सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन केबल ७.५ सेकेन्ड मात्रै लगाउने छ। रियर ह्वील ड्राइभ अप्सनमा आउने डाइनामिक भेरियन्टमा १८ इन्चको अलोय ह्वील, १५.६ इन्चको रोटेड टचस्क्रिन जस्ता फिचर छन्। यसमा बुट स्पेश भने ४५० लिटर क्षमताको छ।
सिलको प्रिमियम भेरियन्टको मूल्य भने १ करोड ३९ लाख रुपैयाँ तोकिएको छ। यसमा ८२.५६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ। यसलाई सिंगल चार्ज गर्दा ५७० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ। यसमा २३० किलोवाट आवरको इलेक्ट्रीक मोटर जडान भएको छ। कम्पनीले यसमा डाइनामिक भेरियन्टकोभन्दा १ इन्च ठूलो ह्वील दिएको छ। यसमा रहेको १९ इन्चको अलोय ह्वीलले यसको प्रिमियमनेसलाई थप बलियो बनाएको छ। यसमा १५.६ इन्चको रोटेड टचस्क्रिन उपलब्ध छ।
सिलको टप भेरियन्ट पर्फमेन्सको मूल्य १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ। यसमा ३९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडित छ। यसले ३.८ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्नेछ। अल ह्वील ड्राइभ र ठूलो मोटर भएको कारण यसमा रहेको ८२.५६ किलोवाट आवरको ब्लेड ब्याट्रीलाई फुल चार्ज गरेर चलाउँदा ५२० किलोमिटर रेन्ज दिनेछ।


