काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभइ अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न केन्द्रित हुने बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धमा भएको बैठकमा प्रधानमन्त्रीले अधुरा आयोजना पूरा गर्ने गरी आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए।
प्रधानमन्त्रीले पूराना योजना अलपत्र पर्ने तर नयाँ-नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए। प्रधानमन्त्रीले भने ‘विकास योजनावद्ध हुन्छ र हुनुपर्छ। बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज जाने बिडम्वना छ। त्यसबाट हामी माथि उठ्नैपर्छ। विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ।’
अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको भए पनि दबाबमुक्त भइनसकेको उनको भनाइ थियो। विकास निर्माणका काममा थुप्रै बेथिति रहेको भन्दै प्रधानमन्त्रीले भने, ‘यसपटक परम्परागत सोंच र ढाँचाबाटमाथि उठौँ। सबैलाई खुसी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ। यसपटक ‘ब्रेक–थ्रु’ गर्नैपर्छ।’
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहे पनि राजस्व सङ्कलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यतालिका परिमार्जन गरिएकाले पर्याप्त अध्ययन र छलफलका आधारमा अन्तिम निष्कर्षमा पुग्न सजिलो हुने बताए। अर्थ मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र सो मन्त्रालयका विभागीय प्रमुखहरूले अर्थतन्त्रको वर्तमान अवस्थाबारे विषयगत प्रस्तुति राखेका थिए। बैठकमा प्रधानमन्त्री दाहालले विभिन्न १६ बुँदे निर्देशन दिए।



