काठमाडौँ– दरबार हत्याकाण्डका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिएको दुई दिन नबित्दै प्रधानमन्त्री प्रचण्डले पनि अभिव्यक्ति दिएका छन्।
शनिबार वीरगञ्जमा आयोजित समारोहमा मन्तव्य राख्दै दरबार हत्याकाण्डका विषयमा आफूमाथि घातक प्रहार भएको गुनासो गरेको दुई दिन नबित्दै प्रधानमन्त्री प्रचण्डले बारा पुगेर छानबिन गर्ने बताएका हुन्।
सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले २०५९ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको वंशनाशको घटनाका विषयमा छानबिन हुने बताएका हुन्।
प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे।
ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको दाबी गरेका थिए। शाहले आफू र आफ्नो परिवारमाथि घातक प्रहार गरिएको समेत उल्लेख गरेका थिए।
‘जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो,’ सम्बोधनका क्रममा ज्ञानेन्द्रले भने, ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो।’
शाहले राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेर नै आङ्कलन गरेको जिकिर गरे। बितेका १५ वर्षमा त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको उनको भनाइ थियो।
शाहले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्याङ्कन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्ने सुझाव दिएका थिए।
यसअघि गत जेठ १६ गते पनि प्रधानमन्त्री दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने प्रतिबद्धता गरेका थिए। नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका थिए।
‘ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन्। के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन। यी सबै कुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ।’
प्रचण्डले जेठ १६ गतेयता दरबार हत्याकाण्डका विषयमा छानबिनका लागि कुनै प्रयास भने गरेका छैनन्। उनले परिस्थितिअनुसार अभिव्यक्ति दिने गरे पनि आफ्ना अभिव्यक्तिलाई कार्यान्वयन गर्न भने चुक्ने गरेका छन्।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको जिकिर गरेका छन्। आइतबार (माघ १४ गते) काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको आरोप लगाएका थिए। कुशलाई बाहुन बनाएझैं जस्तै राजा ज्ञानेन्द्रलाई पनि राजा बनाइएको ओलीको टिप्पणी थियो।
ओलीले तत्कालीन युवराज ‘दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो’ भन्ने तर्क वाहियात भएको जकिर गरे। ‘त्यो षड्यन्त्रले तत्कालीन राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्यो। राजतन्त्र समाप्त गर्यो,’ उनले भने, ‘ज्ञानेन्द्र शाह राजा होइन। बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा मात्र हुन् ज्ञानेन्द्र।’
राजाको जेठो छोरा राजा हुने व्यवस्था भएपनि कान्छो छोराछोरीसमेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको ओलीको जिकिर थियो।
दरबार हत्याकाण्डका विषयमा ममाथि घातक प्रहार भयो : पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ]


