मोरङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीलाई गाडीलगायतका भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन्।
‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत सोमबार विराटनगर महानगरपालिका–७ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘प्रदेश सरकारले जनताका आधारभूत सुविधा थाप्ने हो तर आफ्नो सेवा सुविधा बढाउने होइन,’ उनले भने, ‘यसरी आफैँले आफ्ना लागि सुविधा थप्ने काम गर्दा मुलुकमा लोकतन्त्र नेताहरुलाई मात्र आएको सन्देश जान्छ।’
लोकतन्त्रको फल नागरिकले पनि पाउने गरी काम गर्नुपर्नेमा उनको जोड थियो। कांग्रेस नेता डा कोइरालाले नेपाली कांग्रेस पार्टी समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्नुपर्नेमा जोड दिए।
पार्टीभित्र देखिएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने र कांग्रेस देशका कुनाकाप्चासम्म तथा हरेक नेपालीका घरमा पुग्नुपर्ने बताए।
फरक प्रसङ्गमा स्थानीय सिङ्घिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान खोजिने आश्वासन पनि दिए।
विराटनगर महानगरपालिकाले जापानी सहयोग संस्था जाइकासँग गरेको सम्झौताले यस नगर क्षेत्रका नागरिकलाई स्वच्छ पानी उपलब्ध हुने विश्वास पनि व्यक्त गरेका थिए।


