पोखरा- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य ठग्नेलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाब आउने गरेको बताएका छन्।
गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई पोखरामा सम्बोधन गदै श्रेष्ठले अपराध गर्ने कसैलाई पनि छुट दिन नसकिने बताए। कारबाही गर्न खोज्दा निरन्तर हस्तक्षेप भइरहेको उनको गुनासो छ।
‘गल्ती/अपराध गर्नेलाई कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दवाव सुरु हुन्छ। उद्योग व्यवसायीलाई गर्न भएन नि! हामीले कर तिरेका छौँ भन्छन्,’ गृहमन्त्री श्रेष्ठले थपे, ‘ठिक छ त निजी क्षेत्रलाई पनि हामीले भने कै छौँ त। निजी क्षेत्रको सहयोग साथबिना नेपालको अर्थतन्त्रलाई सकारात्मक तिर लान सकिँदैन। तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिँदैन। कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिँदैन। कसैलाई पनि अपराध गर्ने छुट दिन सकिँदैन।’
सत्तासँग पहुँच भएका राजनीतिक नेताहरू र कर्मचारीहरुको संलग्नता वा उनीहरूलाई प्रयोग गरेर हुने जालसाजी, कीर्ते, ठगी र राज्यलुटलाई कुनै पनि हालतमा छुट नदिने उनले बताए।
‘स्थिति कस्तो छ भने कुनै अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे पर्यो भने राजनीतिक पार्टीका नेताहरू कराउन थाल्छन्,’ उनले भने, ‘ऊ त नेता हो, हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो, गर्न पाइँदैन। त्यसरी चल्दैन यो देश। अब यसरी सञ्चालन हुन सक्दैन। कर्मचारीले कुनै गल्ती गर्यो कारवाही गर्न थाल्यो भने कर्मचारी संगठनले बोल्न थाल्छ। कर्मचारीले पनि त्यस्तो गर्न भएन नि।’
उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकाय र कर्मचारीलाई संविधान कार्यान्वयन, ऐन कार्यान्वयन गर्न र लोकतन्त्रको प्रत्याभूति व्यवहारमा जनतालाई दिन आफ्नो कर्तव्य निर्वाह गर्न त्यसमा कुनै पनि प्रकारको अवाञ्छित हस्तक्षेपबाट भयभित नहुन आश्वस्त पारे।
सुशासन आजको समृद्धिको अभियानको लागि पूर्वसर्त भएको बताएका उनले मिटरब्याजी, अनुचित लेनदेन र सहकारीमा आर्थिक समस्या सिर्जना गरेर शान्तिसुरक्षा खलबल्याउने प्रयास भइरहेको मन्त्री श्रेष्ठले बताए।
पीडितलाई न्याय दिनु राज्यको पहिलो काम रहेको भन्दै श्रेष्ठले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती र उपेक्षालाई छुट नहुने भन्दै मातहतका निकायलाई गम्भीरताका साथ काम गर्न निर्देशन दिए। जनताको बचत ठग्नेविरुद्ध कडाइपूर्वक कारबाहीको प्रक्रिया अगाडि बढाएर बचतकर्ताको बचत फिर्ता गर्ने तर्फ काम गर्न उनले निर्देशन दिए।
बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनी जग्गा हडपेको आरोपमा बिहीबार मात्र व्यवसायी अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए। आईबी)ले जानकारी दिएको छ।
अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजीकरण गरेको आरोप छ।
बाँसबारी छालाजुत्ता कारखानाका पूर्वअध्यक्ष थापालगायतले मिलेमतोमा गरी सरकारको नामको १० रोपनी जग्गा कीर्ते गरी चौधरीलगायतका नाममा निजीकरण गरेको आरोप छ।
उनीहरू दुवैलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंँले प्रहरीलाई ४ दिनको म्याद दिएको छ। यही आरोपमा सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन्।
चौधरी लगायतलाई पक्राउ गरिएको भन्दै निजी क्षेत्रका अगुवाले आपत्ति जनाएका थिए।
अरुण चौधरी पक्राउबारे निजी क्षेत्र भन्छ- सरकारले पेल्न थाल्यो!


