पोखरा- पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोपमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी पक्राउ परेका छन्।
प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर-५ मालेपाटनस्थित डेराबाट सोमबार राति भण्डारीलाई पक्राउ गरेको हो। सहकारी ठगी अभियोग लागेपछि उनी फरार बनेका थिए।
भण्डारीमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिने प्रक्रिया सुरु गरेको छ।
सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले दिएको बयानमा सहकारीको रकम अपचलन गर्न भण्डारीले सहयोगी भूमिका खेलेको आरोप छ।
मित्रमिलन सहकारीमा बचत जम्मा गरेका ३ हजार ४ सय ४६ जना बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार रुपैयाँ अपचलन गरेको पोखरा महानगरको छानबिन प्रतिवेदनमा उल्लेख छ।
सहकारी ठगी आरोपमा जिल्ला अदालत कास्कीले ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि हालसम्म भण्डारीसहित ८ जना पक्राउ परेका छन्।
मित्रमिलन सहकारीको स्याङ्जामा सेवा केन्द्र स्थापना गर्दा १ करोड ५ लाख रुपैयाँ घुस लिएको आरोपमा तत्कालीन सहकारी रजिस्टार उदयबहादुर बहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका थिए। रजिस्टारबाट सरुवा भएर उनी कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बनेका थिए।
पराजुलीसहित यो प्रकरणमा सहकारीका अध्यक्ष पौडेल, प्रमुख कार्यकारी अधिकृत अधिकारीलगायत पूर्पक्षका लागि थुनामा छन्।
