काठमाडौँ- नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ। सोमबार र मंगलबार बसेको संसदीय दलको बैठक राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नु पर्ने निष्कर्षमा पुगेको हो।
सोमबार बोलेका १६ जना र मंगलबार बोलेकेा ८ जना सांसदमध्ये अधिकांशले राष्ट्रिय सभाको अध्यक्षमा पार्टीले उम्मेदवार खडा गर्नुपर्ने बताएका थिए।
राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो दल भएकाले पनि माओवादी दाबी अस्वाभाविक नभएको उनीहरूको भनाइ छ।
प्रधानमन्त्री नभएको अवस्थामा संवैधानिक परिषदमा माओवादीको सहभागिता नहुने भएकाले पनि अध्यक्ष पद आफैँले राख्नुपर्ने माओवादी सांसदको भनाइ छ।
राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादीको उम्मेदवार हार्नुको कारण कांग्रेसको कलह भएको पनि माओवादीको ठहर छ।
प्रचण्डले राष्ट्रिय सभाको अध्यक्षका लागि आफ्नो दलले उम्मेदवार बनाउने कुरा बैठकमा सुनाएको एक सांसदको भनाइ छ। तर त्यसका लागि गठबन्धनमा पनि छलफल गर्ने प्रचण्डले बताएको ती सांसदको भनाइ छ।
यद्यपि माओवादीले औपचारिक निर्णय लिन बाँकी छ। फागुन २० पछि राष्ट्रिय सभामा माओवादीका १७ सांसद हुनेछ।
माघ ११ गते माओवादी केन्द्रका ५ जना उम्मेदवार निर्वाचित भए। माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना सांसद राष्ट्रिय सभामा छन्। ३ जना फागुन २० मा बिदा हुने र ५ जना थपिने भएकाले माओवादी केन्द्रका सांसदको संख्या १७ हुनेछ।
राष्ट्रिय सभा : पहिलोबाट तेस्रोमा झर्यो एमाले, यस्तो बन्यो दलीय उपस्थिति


