मोरङ- विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा छाएको मन्दीप्रति नेपाल सरकार तथा राजनीतिक दलले नजरअन्दाज गरेको आरोप उद्योग संगठन, मोरङले लगाएको छ। देशको अर्थतन्त्र जर्जर बन्दै जादा तालुकदार मन्त्रालयहरु अर्थमन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा मन्त्रीविहिन भएकोमा उसले दु: ख व्यक्त गरेको छ।
‘अर्थतन्त्र सुधारका लागि उपयुक्त विधि, नीति तथा प्रकृयाबाट अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन अहोरात्र काम गर्नुपर्ने यस क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने अर्थ तथा उद्योग मन्त्रालय नै नेतृत्व विहिन अवस्थामा राखिनुले उद्योगी व्यवसायीका समस्या एवं समग्र अर्थतन्त्रको समस्या प्रति सरकार संवेदनशिल देखिँदैन’, उसले जारी गरेको अपिलमा भनेको छ।
समग्र अर्थतन्त्रका सूचकांक लगातार ऋणात्मक भइरहदा एवं निजी क्षेत्रले उद्योग व्यवसाय क्षेत्रमा गरेको ठूलो लगानी जोखिम उन्मुख हुँदा समेत सरकारको ध्यान अर्थतन्त्रको व्यवस्थापनमा भन्दा पनि वढी राजनीतिक बिषयमा मात्रै केन्द्रित हुनु दु:खद भएको ठहर संगठनको छ।
विगतको संक्रमणकालीन अवस्था पश्चात भएको राजनीतिक व्यवस्थापनसंगै देशको आर्थिक एवं औद्योगिक विकासका सन्दर्भमा साझा आर्थिक एजेन्डा तय भई अर्थतन्त्रले गति लिने उद्योगी व्यवसायी र आमसर्वसाधारणको चाहनाको सम्वोधन गर्न उसले राजनीतिक दलहरुलाई आग्रह गरेको छ।
उद्योग व्यवसाय क्षेत्रमा छाएको मन्दीले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर भन्दै संगठनले समस्या समाधानका लागि अपिल गरेको हो। बजारमा व्याप्त आर्थिक शिथिलताका कारण बजार मागमा कमि आएको, वांकी वक्यौता उठ्न कठिनाई भएको र उद्योगी व्यवसायीलाई वित्तीय व्यवस्थापनमा कठिनाई भएको उसले ठहर गरेको छ। उद्योगी व्यवसायीलाई आफ्ना कलकारखाना बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा ल्याएको बताइएको छ।
विगतको संक्रमणकालीन अवस्था पश्चात भएको राजनीतिक व्यवस्थापनसंगै देशको आर्थिक एवं औद्योगिक विकासका सन्दर्भमा साझा आर्थिक एजेन्डा तय भई अर्थतन्त्रले गति लिने उद्योगी व्यवसायी र आमसर्वसाधारणको चाहनाको सम्वोधन गर्न उसले राजनीतिक दलहरुलाई आग्रह गरेको छ।
राजनैतिक समस्याहरुको समाधानमा मात्रै बैठक छलफल गरि सहमति जुटाउने र निकास निकाल्ने उच्च राजनैतिक नेतृत्वले अर्थतन्त्रका विद्यमान चुनौतीहरुलाई सम्बोधन गर्न समेत यहि प्रकृतिको तत्परताका देखाउन उद्योग संगठन मोरङले अपिल गरेको छ।
राजनीतिक र आर्थिक व्यवस्थापनको समानान्तर विकासले मात्र समृद्ध राष्ट्र निर्माण हुने यर्थाथलाई आत्मसात गरी अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा देखिएको विद्यमान भयावह स्थितिलाई नजरअन्दाज नगर्न तथा समग्र अर्थतन्त्र शिथिल भएको यो यथार्थलाई गम्भिरतापूर्वक लिन संगठनले भनेको छ ।
‘तरलता अभाव, ब्याजदर बृद्धि, बजार मागमा कमी मात्र होइन अन्तराष्ट्रिय स्तरमा भएको मूल्य बृद्धि, कच्चा पदार्थ एवं इन्धनको मूल्य बृद्धिको चाप समेत प्रत्यक्षरुपमा उत्पादन लागतमा परेको कारणले वर्तमान समस्या जटिल बन्दै गएको छ’, उद्योग संगठन मोरङले भनेको छ ।
वर्तमान अर्थतन्त्रमा देखिएका समस्याको समाधान सामान्य प्रकृतिको टालटुले नीतिले नहुने भन्दै संगठनले दिगो समाधानका लागि नीजि क्षेत्रलाई समेत साथमा लिई अगाडी बढ्न सरकार तथा सरोकारवाला सम्वन्धित सबैमा अपिल गरेको छ।
