धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा शुक्रबार राति मात्र मन्त्री बनेका आफ्नो दलका सांसदहरूलाई तत्काल सरबारबाट फिर्ता हुन निर्देशन दिएको छ।
पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएकी हुन्।
‘मैले उहाँहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएकी छु,’ अध्यक्ष श्रेष्ठले भनिन्।
मन्त्रीबाट राजीनामा दिएर प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन निर्देशन दिए पनि पालना नगरेको भन्दै अध्यक्ष श्रेष्ठले कारबाही गर्ने चेतावनी दिएकी छन्।
शुक्रबार राति मुख्यमन्त्री कमलबहादुर शाहले नाउपालाई लिएर सरकार विस्तार गरेका थिए। नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, खुशीराम चौधरीलाई विनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए।
उनीहरूले शुक्रबार राती नै शपथ लिएका थिए।
पार्टीका संरक्षक रेशम चौधरीको जोडबलमा सरकारमा गएका प्रदेशसभा सदस्यहरुलाई पार्टी अध्यक्षले फिर्ता हुन निर्देशन दिएपछि उनीहरु नयाँ बनेका मन्त्रीहरू नैतिक संकटमा परेका छन्।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमाले-माओवादी गठबन्धनलाई बहुमत जुटाउन नाउपा अत्यावश्यक छ।
कांग्रेसका १८, एमाले र माओवादीका १०-१०, नाउपाका ७, राप्रपाका एक र स्वतन्त्र सांसद एक जना छन्। नाउपा, स्वतन्त्र र राप्रपाका सांसदले समर्थन गरे कांग्रेसलाई बहुमत पुग्छ।
सुदूरपश्चिममा बहुमतका लागि २७ जना सांसदको समर्थन कायम राख्न पर्ने हुन्छ।
बहुमत पुर्याउने दाउमा सुपका मुख्यमन्त्री शाहले विस्तार गरे मन्त्रिपरिषद्


