काठमाडौँ– नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ।
आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ।
नारायण राष्ट्रपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन्। दाहालको कार्यकाल अब चार वर्ष बाँकी छ।
तत्कालीन सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणलाई २०७८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।
चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि राजनीतिक दलमा सक्रिय छन्। २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी २०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य छन्।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भए।
यसअघि दाजु प्रचण्ड प्रधानमन्त्री हुँदा भाइ नारायण सल्लाहकार थिए। अहिले फेरि दाजु प्रचण्ड प्रधानमन्त्री बनेकै बेला नारायणलाई सम्माननीय पदमा पुग्न सक्ने अवसर जुटाइदिएका छन्।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त छ। माओवादीमा हालकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा अध्यक्षका आकांक्षी थिए। तर प्रचण्डले भाइ नारायणलाई सम्माननीय पदमा पुर्याउन कांग्रेससँगको गठबन्धन तोडेर एमाले-रास्वपासँग मिलेर गठबन्धन बनाएका छन्।
नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। ७३ वर्षीय शर्मा कांग्रेस बाँकेका पूर्वसभापति हुन्।
उनी २०७८ माघमा भएको राष्ट्रिय सभा चुनावबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन्।
आइतबार संघीय संसद् सचिवालयले फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्ष पदका लागि निर्वाचन गर्ने तय गरिएको जानकारी दिएको छ।
प्रकाशित तालिकाअनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ।
दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ। राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि सोमबार मनोनयन दर्ताको कार्यक्रम छ।
