काठमाडौँ- सरकारले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
तीन प्रदेशप्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
गण्डकीमा पृथ्वीमान गुरूङ, मधेसमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेशमा छन्।
रिक्त भएका पदमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ। मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार राष्ट्रपतिलाई सिफारिस गर्ने र राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
मधेसको प्रदेशप्रमुखमा सुमित्रा भण्डारी, गण्डकीको प्रदेशप्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिमको प्रदेशप्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको मन्त्री शर्माको भनाइ छ।


