काठमाडौँ- एक वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला हुने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको हो।
जथाभावी जग्गाको कित्ताकाट भएको भन्दै गत जेठमा सरकारले भू–उपयोग नियमावली २०७९ ल्याएर कित्ताकाटमा कडाइ गरेको थियो। उक्त नियमावलीलाई पुनः संशोधन गरी कित्ताकाट सहज बनाइएको सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘कतिपय ठाउँमा कित्ताकाट रोकिएका थिए। अंशबन्डा र किनेको जग्गा विक्री वितरण गर्न सक्ने वातावरण थिएन,’ मन्त्रिपरिष्दको निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले भनिन्, ‘कित्ताकाट शुरु हुन केही समय लाग्छ। हिजो जग्गा किनेर बिक्री गर्न नपाएकालाई अब सहज हुन्छ।’
नियमावलीमा जग्गालाई वर्गीकरण गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको थियो। सोही अनुसार १६१ वटा पालिकाले जग्गा वर्गीकरण गरी कित्ताकाट खुलाएका थिए।
जग्गाको कित्ताकाट रोकिँदा जग्गा कारोबारमा कमी आएको थियो। कित्ताकाट खुलेपछि जग्गाको कारोबार बढ्ने विश्वास गरिएको छ।


