महेन्द्रनगर (धनुषा)- उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शोषित, पीडित वर्गको अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनुको विकल्प नरहेको बताएका छन्।
आज जनकपुरधाममा पिछडा वर्ग महासङ्घ नेपालद्वारा आयोजित दुई दिवसीय प्रशिक्षणको समापन समारोहमा उनले पिछडा वर्ग बहुसङ्ख्यक भए पनि सङ्गठित हुन नसक्दा उचित अधिकार, प्रतिनिधित्व र सम्मान पाउन नसकेको बताए।
वर्तमान युगमा सङ्गठन नै शक्ति रहेको उल्लेख गँदै उपप्रधानमन्त्री यादवले पिछडा वर्गहरूलाई सङ्गठित भएर अघि बढ्न आग्रह पनि गरेका छन्। पिछडा वर्गमा शिक्षाको आभाव देखिएको बताउँदै जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहहेका अध्यक्ष यादवले आफ्ना सन्तानको शिक्षामा जोड दिन अपिल गरेका छन्।
पिछडा वर्ग महासङ्घका अध्यक्ष भरत महतोको अध्यक्षतामा दुई दिनसम्म चलेको प्रशिक्षणमा मुलुकका विभिन्न क्षेत्रबाट आउनुभएका एक सय जनाभन्दा बढीको प्रशिक्षार्थी सहभागी थिए। कार्यक्रममा प्रमुख प्रशिक्षक अध्यक्ष यादवका साथै सिपी सिंह, मनाइ महतो, दीपेन्द्र कापरलगायत थिए।


