काठमाडाैँ- आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ ।
प्रतिनिधि सभाको आजकाे बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, भन्सार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसद् अवरोध गर्दै आइरहेको छ। कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समितिको माग पनि गरेको छ।
आजै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन्।
संसदको अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले शनिबार प्रमुख दलका प्रमुख सचेतक र सचेतहरूसँग छलफल गरेका थिए।
उक्त छलफलमा सत्तापक्ष दलका प्रमुख सचेतकहरूले संसदीय छानबिन आवश्यक नरहेको बताएका थिए भने कांग्रेस सचेतक सुशिला थिङले गृहमन्त्रीमाथि छानबिनका लागि संसदभित्रबाटै समिति बनाउनुपर्ने अडान राखेकी थिइन्।
गृहमन्त्री लामिछानेले तत्काल संसदमा राजनीतिक दलसम्बन्धी विधेयक पेस नगर्ने सर्तमा कांग्रेसले संसदको अन्य कार्यसूची अगाडि बढाउन दिने सचेतक थिङले बताएकी थिइन्।
शनिबार नै प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो।
भेटवार्ताका क्रममा संसदको अवरोध खुलाउने विषयमा पनि छलफल भएको थियो।
आजै बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रतिनिधि सभा बैठकको अवरोध हटाउने विषयमा छलफल हुनेछ।
