काठमाडौँ- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशमा संघीयता मधेस प्रदेशका जनताकै कारण आएको बताएका छन्। उनले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताए।
उनले शुक्रबार जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावि रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तहबीचको समन्वयलाई व्याख्या नगरी संघीयतालाई नै कमजोर गर्ने काम गरेको बताए।
उनले संघीयता भए पनि संघ सरकारले अधिकार हस्तान्तरण नगरेको उल्लेख गरे।
उनले भने, ‘देशमा संघीयता ल्याउने मधेस प्रदेश नै हो। मधेस प्रदेशका हामी सम्पूर्ण जनताले आन्दोलन गरेबापत यो देशमा संघीयता आएको हो। मधेस प्रदेशमा जुन विकास भएको छ नि, संघीयता आएपछि नै भएको हो।’


