काठमाडौँ- प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ। इलाम–२ र बझाङ १ (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो। इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ। मनोनयनपत्र दर्ता बिहान १० देखि ५ बजेसम्म हुने छ। इलाम र बझाङको चैनपुरमा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो। आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार चैत २४ गते उम्मेदवारी दर्ता र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन हुने छ। उम्मेदवारी दर्ता भएको भोलिपल्ट चैत २५ उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ।
चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ।
तोकियो मतदान स्थल
निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचन हुने क्षेत्रमा मतदान स्थल स्वीकृत गरेको छ। इलाम–२ मा ७९ मतदान स्थल तथा १४९ मतदान केन्द्र हुने छन्। बझाङ १ (१) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र हुने छन्।
उपनिर्वाचन हुने इलाम र बझाङमा कति छन् मतदाता?
निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम र बझाङको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।
इलाममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। त्यसको लागि निर्वाचन आयोगले बिहीबार अन्तिम नामावली सार्वजनिक गरेको हो।
इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता छन्। त्यस्तै बझाङको १ (१) मा ६१ हजार सात सय ४८ जना छन्।
निर्वाचन आयोगकाे विवरण अनुसार सबैभन्दा बढी मतदाता मोरङमा छन्। त्यहाँ महिला मतदाता ३ लाख ६२ हजार ९७३ पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० मतदाता छन्।
सबैभन्दा कम मतदाता मनाङमा रहेको निर्वाचन आयोगले जनाएको छ। त्यहाँ महिला मतदाता ३ हजार ५३० र पुरुष मतदाता ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन्।
