काठमाडौँ- सिंहदरवार, राष्ट्रपति कार्यालय र बालुवाटारको फोहोर तीन दिनभित्र उठाउन सर्वोच्च अदालते काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यस्तो आदेश जारी गरेको हो।
संघीय सरकारले आफ्नो काममा सहयोग नगरेको आरोप लगाउँदै महानगरका मेयर बालेन्द्र साहले सिंहदरवार, शीतल निवास र बालुवाटारको फोहोर नउठाउने घोषणा गरी कार्यान्वयन गरेका थिए। बालेन्द्रको उक्त कदमविरुद्ध पदमबहादुर श्रेष्ठले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सिंह इजलासले महानगरलाई आदेश जारी गरेको हो।
काठमाडौंको वायुमण्डल प्रदूषित हुन पुगेको र संसारकै सबभन्दा प्रदूषित सहरको सूचीमा परेको समाचार सबैका लागि लज्जाको विषय भएको समेत सर्वोच्चको आदेशको ठहर छ। हजारौं नागरिक र सेवाग्राही दिनहुँ पुग्ने सिंहदरबार क्षेत्र लगायतका ठाउँको फोहोर नउठाएर वातावरण दिनहुँ प्रदूषित भएको र आमजनतालाई प्रत्यक्ष असर गरिरहेको देखिएकाले कत्ति पनि ढिलाइ नगरी फोहोर उठाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ।
‘संवैधानिक र कानुनी व्यवस्थाअनुसार निवेदकले उल्लेख गरेका क्षेत्रहरू (सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास) को फोहोर संकलन गरी विसर्जन गर्नुपर्ने दायित्व काठमाडौं महानगरको देखिन आयो,’ आदेशमा उल्लेख छ, ‘ ‘उक्त स्थानहरूको फोहोर यो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र संकलन गरी विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउँमा यो अन्तरिम आदेश जारी गरिदिएको छ।’
चैत २५ पछि फोहोर नउठ्दा सिंहदरवारको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।


