काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा अवरोध गरेको छ। मंगलबार सुरु भएको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध गरेको हो।
बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद उठेपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सुशीला थिङलाई बोल्न समय दिएका थिए।
उनले नेपाली कांग्रेस संसदीय दलले गरेको निर्णय सुनाउँदै गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेकी थिइन्। तर कांग्रेसका मागलाई सरकारले वास्ता नगरे त्यसबाट आइपर्ने अवस्थाको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिएकी थिइन्।
थिङपछि रास्वपाका सांसद मनिष झालाई बोल्नका लागि सभामुखले समय दिएका थिए। तर कांग्रेस सांसदहरू उभिएको उभिएकै गरेर विरोध गरिरहेका छन्।
सभामुख घिमिरेले बारम्बार सांसदलाई दायित्व सम्झाउँदै बस्नका लागि आग्रह गरिरहेका छन्। तर कांग्रेस सांसदहरू बसेका छैनन्।


