कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका छन्।
प्रदेश प्रमुख नाजिर मियाँलाई आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
चौधरी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन्।
आफूलाई एमाले र माओवादीका सांसदको पनि समर्थन रहेको जिकिर गर्दै उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
आफूलाई नाउपाका ७ जना, माओवादीका १० जना र एमालेका पनि १० जना सांसदको समर्थन रहेको उनको दाबीपत्रमा उल्लेख छ।
यसअघि नाउपाकै सांसद लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। लक्ष्मण नाउपा संरक्षक रेशम पक्षका नेता हुन्।
लक्ष्मणकिशोरले नेपाली कांग्रेसका १८, नेकपा एसका ४ जना र नाउपाका ७ जनाको समर्थन रहेको भन्दै आफूलाई मुख्यमन्त्री बनाउन दाबी गरेका छन्।
संघमा एमाले-माओवादी गठबन्धनसँग मिलेको नेकपा एसले भने रेशम पक्षका लक्ष्मणको पक्षमा हस्ताक्षर गरेको छ।
नाउपाका सांसद विभाजन हुँदाको अवस्थामा लक्ष्मणलाई मुख्यमन्त्रीको नियुक्ति हुने सम्भावना छ। नाउपाका ४ जना आफ्नो पक्षमा टिकाउन सके लक्ष्मण मुख्यमन्त्री बन्ने दाबी गरिएको छ।
तर रञ्जिताका पक्षमा दुई जना मात्र सांसद रहेकाले कैलाश मुख्यमन्त्री बन्ने सम्भावना कम भएको नाउपाकै नेताहरू बताउँछन्।
नाउपाभित्र अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरी पक्षबीच मतभेद हुँदा दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको साथ चाहिन्छ।
यद्यपि दुई पद रिक्त रहेकाले २६ जनाको समर्थन भए पनि पुग्ने लक्ष्मणपक्षीय गठबन्धनको दाबी छ।
रेशम पक्षका लक्ष्मणले पेस गरे मुख्यमन्त्रीमा दाबी, कांग्रेस र एसको समर्थन


