काठमाडौँ- सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताघटक नेकपा (एकीकृत समाजवादी) दक्षिणपन्थी र अवसरवादी भएको आरोप लगाएका छन्।
नेपाली कांग्रेससँग मिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको भन्दै ओली नेकपा एसको नेतृत्व (माधवकुमार नेपाल)माथि खनिएका हुन्।
संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बसेको संसदीय दल बैठकमा बोल्दै ओलीले एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणलाई कमजोर बनाउने गरी प्रस्तुत भएको टिप्पणी गरे।
‘अराजनीतिक प्रवृत्ति बहुतै हाबी भएको छ, हिजोमात्रै एस भन्ने पार्टी छ एउटा…। कांग्रेससँग नजिक भएर त्यसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरण कमजोर बनाउने,’ ओलीले थपे, ‘यस समीकरणलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सक्ने, अथवा निःशुल्क सेवा पनि उन्मुक्तिको पनि गर्न सक्नेतिर कदम चाल्यो।’
ओलीले राजनीति सही दिशामा गइरहेको अवस्थामा नेकपा एसले बिथोल्न चाहेको पनि टिप्पणी गरे।
‘सही दिशामा राजनीतिक फर्किंदै थियो। विपक्षीहरूमा आशा आउने गरी, जनतामा आशंका, अन्यौलता, निराशा केही मात्रामा भए पनि पैदा हुने गरी, त्यस पार्टीले कदम चाल्यो। त्यसका बोली, व्यवहार, बार्गेनिङ, आन्तरिक रूपमा छँदै थिए। तर हिजो बाहिर नै प्रकट भयो। त्यस समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन नगर्ने, कांग्रेस केन्द्रित गठबन्धनबाट समर्थन गर्ने, एकीकृत समाजवादीको दक्षिणपन्थी, अवसरवादी चरित्र नांगो ढंगले प्रकट भयो,’ उनले भने।
आइतबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुई जनाको छुट्टाछुट्टै दाबी परेको छ। रेशम निकट लक्ष्मणले नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठनिकट कैलाश चौधरीले एमाले, माओवादी केन्द्रसहितको समर्थनमा मुख्यमन्त्री दाबी गरेका छन्।


