काठमाडौँ- इलाम-२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ।
आइतबार दिउँसो १२ बजेपछि मतगणना सुरू भएको हो। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको छ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अनुसार बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी भएपनि सर्वदलीय बैठक हुन समय लागेकाले ढिला गणना सुरु भएको बताए।
इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना सुरु भएको हो। गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएका छन्।
मतगणना स्थलमा भीड हुन नदिन चोकबजारमा रहेको ‘डिस्प्लेबोर्ड’मा परिणाम सार्वजनिक गरिने छ।
मतपरिणाम दुईदुई घण्टाको अन्तरालमा सार्वजनिक गरिने उनले जानकारी दिए।
उपनिर्वाचनमा ५९.७९ प्रतिशत मत खसेको छ। शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्।
विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।


