काठमाडौँ- प्रहरी र लागूऔषध कारोबारीबिच दोहोरो झडप हुँदा १ जना घाइते भएका छन्।
नेपाल भारत सिमानाका झापा गाउँपालिका–३ स्थित कामाटोली सीमानाकामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा दोहोरो झडप हुँदा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका हुन्।
प्रहरीका अनुसार अन्दाजी ३२ वर्षका अबदुल रसिद मियाँको दाहिने खुट्टामा गोली लागी घाइते भएका हुन्।
सोमबार साँझ ६ बजे स्थानीय अक्कलबहादु विश्वकर्माको घरमा लागूऔषधको कारोवार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीमाथि लागूऔषध कारोवारीमा संलनको समूहले दाउ र कुखुरीबाट प्रहार गरेका थिए। यससँगै प्रहरीले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
प्रहरीको गोली प्रहारबाट झापा गाउँपालिका ४ स्थित खैरवारी बस्ने वर्ष २५ को सरिफुल आलमको खुट्टाको तिघ्रा र पिडुलामा दुई राउण्ड गोली लागेको छ।
घाइते मियाँलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरतर्फ लगिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ १ थान, १ थान खुकुरी बरामद गरेको छ। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए।


