काडमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ मा विजयी भएका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएको छ। रास्वपाका महामन्त्री डा. मुकुल ढकालले मंगलबार विज्ञप्ति निकालेर सुहाङलाई बधाई दिएका हुन्।
‘उपनिर्वाचनमा विजयी हुनुभएका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई हार्दिक बधाई तथा जनअपेक्षा अनुरुप कार्यसम्पादन गर्न सक्षम हुनुहोस् भनी सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं,’ रास्वपाले भनेको छ।
पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनबारे गम्भीर समीक्षा गर्ने पनि रास्वपाले उल्लेख गरेको छ। ‘निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ। सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ,’ विज्ञप्तिमा भनिएको छ।
इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ निर्वाचित भएका छन्। उनले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याएका छन्।
चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत ल्याए। उनले जमानत जोगाउन सकेनन्।
लिम्बूले पनि छुट्टै विज्ञप्ति जारी गर्दै आफ्नो हारले नागरिकका पक्षमा काम गर्न नरोक्ने बताएका छन्।
‘नेपालको राजनीतिमा कायम रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति इत्यादिविरुद्ध निरन्तर हामी घण्टी बजाइरहने छौं। मुलुकमा सुशासन, सबैको आत्मसम्मान र सामाजिक न्यायसहितको उन्नत लोकतन्त्र, संघीय गणतन्त्रका पक्षमा काम गरिरहने छौँ,’ लिम्बूको विज्ञप्तिमा उल्लेख छ।


