काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान पक्षधरहरूको आन्दोलनमाथि प्रश्न उठाएका छन्। इलाम-२ मा एमालेले जितेपछि आयोजित विजयसभामा ओलीले पहिचानवादी आन्दोलनमाथि प्रश्न उठाएका हुन्।
कोशी प्रदेशको नामकरणविरुद्ध भएको आन्दोलनले अन्तत: इलाम-२ मा साझा उम्मेदवारी दिएपनि उनीहरूलाई पराजित गर्दै एमाले विजयी भएपछि ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले कुनै जात र थर विशेषलाई मात्र पहिचान बनाउन नहुनेमा जोड दिएका थिए।
‘पहिचान भनेको के हो? केलाई पहिचान भन्ने? हामी सबै नेपाली हौं। त्यही पहिचान हो। धनी भए धनी नेपाली। गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली। पढ्न पायौं भने विद्वान नेपाली, पाएनौं भने बुद्धु नेपाली,’ ओलीको प्रश्न थियो, ‘कस्तो पहिचान?’
व्यक्तिगत पहिचान बनाउन खोजे कोही सफल हुन नसक्ने उनले ठोकुवा गरे। समृद्ध नेपाल सुखी नेपाली नै पहिचान भएको उनको तर्क छ।
‘नेपाली जनता सुखी हुनुपर्छ। प्रदेशको नाम पहिचानको कुरा होइन। पहिचान भनेको नामको कुरा होइन। जाति विशेषको, थर विशेषको कुरा होइन। पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए। तसर्थ यो धेरै ठूलो कुरा होइन,’ उनले भने, ‘यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन। साझा नाम राख्दा केही बिग्रिँदैन। हामी सयौं थुंगा फुलका एउटै माला हौं। इलाममा पनि सूर्य चिह्नले जित्यो, त्यही हो पहिचान।’


