काठमाडौँ- २०८० साल चैत १ गतेयता बिहीबारसम्म देशभर भएका आगलागीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार उक्त अवधिमा कम्तीमा एक सय जना घाइते भएका छन्।
मन्त्रालयको विपद् जोखिम न्यूकरण पोर्टलले यो अवधिमा आगलागीका १ हजार ५५० घटना भएको रेकर्ड गरेको छ। यसमध्ये ५१४ स्थानमा वनडढेलो लागेको हो। आगलागीका घटनाबाट २ हजार २५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
आगलागीमा परी २० पुरुष र १० महिलाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यीमध्ये वनडढेलोमा परी ज्यान गुमाउनेको संख्या १० छ।
आगलागीमा परी घाइते सय जनामध्ये वनडढेलोमा परी २० जना घाइते भएका छन्। मन्त्रालयले आगलागीको क्षतिको पूर्ण विवरण भने अद्यावधिक गरेको छैन।


