काठमाडौं, बैसाख १२ – सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको लक्ष्यसाथ उत्रिएका चर्च बोइज क्लब र त्रिभुवन आर्मी क्लबको यात्रा सोचेजस्तो भइरहेको छैन। चर्च बोइजले यसअघि शीर्षस्थानको जावलाखेलसँग मात्र हार बेहोरे पनि ६ खेलमा त बराबरी मात्र गरेको थियो। यसकारण पनि उसलाई मंगलबारको हारसमेत गरे १५ अंकको घाटा लगेको छ।
खेलपछि आफ्नो टिमबारे प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीको चोटका कारण लगातार दुई हार भएको बताएका छन्। उनले भने, ‘सिनियर खेलाडीलाई चोटले सताएको छ। क्विक रिकभरी भएको छैन। म क्लबमा आउनुभन्दा अघिबाटै विदेशी खेलाडीलाई डिफेन्समा नै धेरै प्रायोरेटी गरेको देखेको छु। अट्याकमा रन्जितले आज बल्ल दोस्रो खेल खेले। बीचमा चोटका कारण आराममा थिए। फिनिसिङमा कमी भएको छ। अन्जन(विष्ट) र अनन्त तामाङको चोटले गर्दा हामीलाई गाह्रो भएको हो।’
यता आर्मीले त सिजनमा खराब सुरुआत गरेको सत्य हो। उसले दुई खेल अघि र आज जित निकालेर लिगको आधा सिजन हुँदै गर्दा मात्र अंकतालिकामा थोरै सुधार गरिरहेको छ। यद्यपी आधा लिग नसकिँदै तीन हार र चार बराबरी चाहीँ उपाधिको लक्ष्य राख्ने क्लबको लागि सुखद् मानिँदैन।
‘हामीलाई आजको भन्दा पनि अस्ति पुलिसविरुद्धको तीन अंक धेरै आवश्यक थियो। तर त्यो खेल बराबरी भयो। हाम्रो टिमको डिफेन्समा समस्या छ। पान्डे र विकास खवासलाई इन्ज्युरी भएर हामीलाई समस्या नै भएको हो। त्यसैले यस्तो नतिजा आइरहेको छ,’ आफ्नो टिमले निकालेको यसअघिका नतिजाबारे आर्मीका प्रशिक्षक नविन न्यौपानेले भनेका छन्।

त्रिभुवन आर्मी क्लबका खेलाडी। फाइल फोटो।
मंगलबारको खेलमा अन्तिमसम्म पनि चर्च बोइजले दबाब नै बनायो। तर गोलमा असफल प्रयास गरिरह्यो। यससँगै चर्च बोइजले लिगमा आर्मीसँग १–० हार बेहोरेको छ। समग्रमा उसको यो दोस्रो हार हो। अघिल्लो खेलमा चर्च बोइजले जावलाखेलसँग पनि हार बेहोरेको थियो। जहाँ मंगलबार रातिको खेलमा निर्णायक गोल जिलेस्पी जंग कार्कीले गरे। यो जितले आर्मीलाई तेस्रो स्थानमा पुर्याएको छ। यता ब्याट टू ब्याक हारको साथ चर्च बोइज एक स्थान घटुवा भएर चौथो स्थानमा पुगेको छ।
खेलको छैटौं मिनेटमै चर्च बोइजका मौसम सुब्बाले सुन्दर प्रहार गरेका थिए। तर उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो। नवौं मिनेटमा पनि चर्च बोइजका दुई खेलाडीले दोहोरो प्रहार गरे। तर, पहिलो प्रहार गोलकिपर कुथुले बचाए भने दोस्रो प्रहार आर्मीका डिफेन्डरले क्लियर गदिए। यसैगरि पहिलो हाफभरी चर्च बोइजले दबाब बनाइरह्यो।
उसले थप केही राम्रा मुभहरू बनाएको थियो। खासगरि अनोस मगरको ठाउँमा लेफ्ट ब्याक बिकू राई मैदान प्रवेश गरेपछि राईले राम्रा पासहरु उपलब्ध गराएका थिए। तर चर्च बोइजका पहिलो हाफका सबै प्रयास खेर गए।
दोस्रो हाफको ५० औं मिनेटमा चर्च बोइजका रन्जित सिंह र दोस्रो पटक बेन्फले गरेको प्रहार दुवै सेभ भएका थिए। ७९ औं मिनेटमा आर्मीले ब्याक पास दिएको बल गोलकिपर कुथुले हातले रोकेपछि चर्च बोइजले बक्स भित्रै फ्रि किक पाएको थियो। सुवास सुरुङले प्रहार गरको फ्रि किक कुथुले निकै मुश्किलले बचाएका थिए।
चर्च बोइज क्लबका प्रशिक्षक महर्जनले पहिलो हाफमा सेट हुन नसकेको तर दबाब दिए पनि गोल ननिस्किएको बताएका छन्। उनले भने, ‘पहिलो हाफमा सेट हुन सकिएन। लगातार आठ वर्ष खेलेको आर्मी सेट टिम पनि हो। हामी अट्याकिङ थर्डसम्म पुगेर पनि चुकेको हो। यो समस्या अरु टिममा जस्तै र्चच बोइजमा पनि छ। डि बक्स भित्र हामी चुकेका छौं।’

त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास।
आर्मीले चाहिँ समयमै गोल निकाल्यो। खेलको १२ औं मिनेटमा आर्मीका जिलेस्पी जंग कार्कीले तीन डिफेन्डरबाट बललाई बचाउँदै गोल गरे। उनले दोस्रो बारतर्फ गरेको प्रहारमा गोलकिपरले पनि बचाउन सकेनन्। खेलको १६ औं मिनेटमा आर्मीकै नवयुगले गरेको भली प्रहार भने पोस्टको केही माथिबाट बाहिरियो।
आर्मीका नवयुगले पहिलो हामफमा गोलका केही असफल प्रयास गरेको थियो। अट्याकिङ थर्डमा फरवार्डबीच तालमेल नहुँदा उनीहरुले विपक्षीलाई दबाब भने बनाउन सकेनन्। दोस्रो हाफमा उसले प्रदर्शन सुधार गर्यो। तर प्रहारहरु चाहीँ पोस्ट बाहिर नै गरिरह्यो। ६१ औं मिनेटमा कप्तान भरत खवासले पोस्टबाहिर प्रहार गरे।
‘धेरै दबाब आएको हो। लक्कील्ली जिलेस्पीले गोल गरेको कारण हामीलाई सहज भयो। गोलकिपर विकेसको सेभ नै आज जितको मूख्य कारण हो। हामीले सुरुमा तीन खेलाडी मात्र पछाडि खेलाएको हो। पछि ५ खेलाडीलाई पछाडी ल्याएर खेलाएपछि गोल खानु परेन,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने।


