काठमाडौँ- सरकारले सहकारी समस्या समाधानका लागि व्यवस्थापन समिति गठन गरेको छ।
पूर्वन्यायाधीश रमणकुमार गौतमलाई समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष बनाएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरेको हो।
बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको पनि बताइन्।
उनले दुई पक्षीय वार्ताको लागि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा परराष्ट्रका अधिकारीहरू सम्मिलित वार्ता टोली र प्रतिनिधि मण्डल गठन हुने बताइन् ।
मन्त्री शर्माले देशभर भएका आगलागीका घटनाहरूमा पनि गम्भीरतापूर्वक छलफल भएको बताइन् । संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरेर आगलागीका घटनाको न्यूनीकरण गरेर जानुपर्ने भन्ने निर्णय भएको पनि बताइन् ।


