काठमाडौँ- ललितपुरको भैंसेपाटीमा रहेको चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्कमा आक्रमण गरिएको छ। शुक्रबार अपरान्ह अज्ञात समूहद्वारा फुड्स पार्कमा आक्रमण गरिएको हो।
दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पतिमाथि तोडफोड गरेको छ।
फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए। त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारीहरू त्यहाँबाट पछि हटेका थिए।
त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ।
‘यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौँ, घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कार्वाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं’ सीजीले विज्ञप्ति जारी गर्दै भनेको छ।


