काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएर अशोक राईको नेतृत्वमा बन्न लागेको नयाँ दलले एमाले-माओवादी गठबन्धनलाई साथ दिने भएको छ।
राई पक्षमा खुलेका एक सांसदले आफूहरूले वर्तमान सत्ता गठबन्धनलाई नै साथ दिने बताएका छन्।
कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन प्रयास गरिरहेको बेला सत्ताधारी पार्टी जसपा फुटेको हो।
नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले अध्यक्ष उपेन्द्र यादव विधानविपरीत चलेकाले आफूहरू छुट्टिएको बताए।
सांसद अशोक राईले नयाँ पार्टी गठनको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्। उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका जसपा नेपालका अध्यक्ष यादवका पक्षमा अब ५ जना सांसद मात्र बाँकी भएका छन्। यसमध्ये पनि दीपक कार्कीलाई आफ्नो समूहमा ल्याउन राई समूहले कसरत गरिरहेको छ। हाल वनराज्यमन्त्रीसमेत रहेका कार्कीले पनि राईलाई साथ दिएको अवस्थामा उपेन्द्रको पक्षमा ४ जना मात्र सांसद हुनेछन्।
नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ प्रस्ताव गरिएको छ। पहिले पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ थियो।
अशोककुमार राईलाई प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान र सुशीला श्रेष्ठले समर्थन गरेका छन्। साह वनमन्त्री हुन्। कार्की वन
२९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू पनि दल दर्ताको माग गर्दै निर्वाचन आयोगमा पुगेका छन्।
पार्टीभित्र आफूखुसी गरेको र सांसदहरूको अपमान गर्ने काम उपेन्द्रले गरेकाले नयाँ पार्टी बनाउने निष्कर्षमा आफूहरू पुगेको राई पक्षको दाबी छ।
उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला राई समूहले पार्टी फुटाएको हो।
