काठमाडौँ- कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। छैटौँ पटकको आह्वानमा संविधानको धारा १६८ (५) ने टेकिएको छ।
उनले सरकारको दाबी पेश गर्ने दुई दिनको समय दिएका छन्। कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समय सीमा दिइएको थियो।
संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए। तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए।
सरकार गठनको आव्हान भएलगत्तै एमाले–माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेका छन्।
आफूसहित ८ जना सांसद लिएर आएपछि कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले काँध थापेका थिए।
यसअघि कोशीमा २ पटक हिक्मत कार्की, २ पटक उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन्। केदार कार्की असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

यसैबिच, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्को सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन्। प्रदेश प्रमुखको कदम विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च अदालत जाने तयारीमा छन्।
प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गरिनु असंवैधानिक कदम भएको टिप्पणी गरे। उनले भने, ‘संविधानले दुई वटा सरकारको परिकल्पना गरेको छैन।’
आफू बहाल रहेकै अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गर्दै उनले भने, ‘यो असंवैधानिक कदम भयो, गल्ती गर्दाखेरी मान्छे चुक्छन्।’
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत परीक्षण गरेपछि केदार कार्की स्वत कामचलाउ भएका कारण प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेको बताए।


