काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउने तयारी गरेका छन्।
प्रदेश प्रमुख परशुराम खापुङविरुद्ध कार्कीले मुद्दा दर्ता गराउने तयारी गरेका हुन्।
आफू मुख्यमन्त्री हुँदाहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि सर्वोच्च जाने तयारी उनले गरेका हुन्।
त्यसका लागि बिहीबार बिहान कार्की काठमाडौँ आएका हुन्।
मुख्यमन्त्री कार्कीले समयमा विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको भन्दै प्रदेश प्रमुख खापुङले बुधबार राती नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्रीमा दाबी गर्नका लागि उनले दुई दिनको समय दिएका छन्।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्। यसअघि कार्की पनि सोही धारा/उपधारा अन्तर्गत मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यो धारामा कुनै गैरदलीय सांसद पनि मुख्यमन्त्री बन्न सक्ने व्यवस्था छ।
२०८० असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता कार्कीलाई एमाले-माओवादी केन्द्रले दिएको समर्थन २०८० चैत २६ गते फिर्ता लिएका थिए। यसपछि अल्पमतमा परेका कार्कीले ३० दिनपछि विश्वासको मत पनि लिएनन्, राजीनामा पनि दिएका थिएनन्।
उता, एमाले-माओवादीले भने एमाले सांसद हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेका छन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले भने दाबी परेपछि सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्त गर्ने तयारी अघि बढाएका छन्।


