काठमाडौँ- संसमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले दुई बैठक बोलाएको छ।
बिहान ८ बजे संसदीय दल कार्यसमिति र साढे ८ बजे संसदीय दलको बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बैठकमा शुक्रबार (आज)देखि सुरू हुने बजेट अधिवेशनमा प्रस्तुत हुने तयारीबारे निर्णय लिनेछ।
शुक्रबारै दिउँसो २ बजेदेखि संसदको बजेट अधिवेशन सुरू हुँदैछ।
अधिवेशनको सुरुमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची छ।
हिँउँदे अधिवेशनमा नै नेपाली कांग्रेसले जोडतोडका साथ उठाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गरेको थियो। तर उसको माग सम्बोधन नहुँदै संसद अधिवेशन अन्त्य गरेपछि कांग्रेस आफ्ना माग छोड्ने पक्षमा छैन।
संसदीय छानबिन समितिको नबनेसम्म कांग्रेसले लामिछानेलाई संसदको रोष्ट्रम प्रयोग गर्न नदिने भनेको थियो।
तर बुधबारको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले लामिछानेलाई दलीय आधारमा बोल्न दिने मनस्थिति बनाएको छ।
कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसदमा फेरि अवरोध सिर्जना गर्ने सम्भावना देखिएपछि बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। एमाले र रास्वपाले छानबिन समितिको माग गलत रहेको बताएका थिए। एमाले अध्यक्ष ओलीलगत्तै बोलेका रास्वपाका लामिछानेले कांग्रेसका भ्रष्टाचारी सांसदलाई संसद प्रवेश गर्न नपाउने व्यवस्था गर्न माग गरेका थिए। यद्यपि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेसका टेकबहादुर गुरुङ भने सर्वोच्चबाट संसद बैठकमा सहभागी हुन पाउने आदेश लिएर गएका छन्।
कांग्रेसका बैठकमा गृहमन्त्री लामिछाने मुसिएको सहकारी प्रकरणलाई ढाकछोप गर्न उनले संवैधानिक निकायलाई दुरुपयोग गर्न थालेको विषयमा पनि छलफल हुने बताइएको छ।


